पत्रकार दिलभूषण पाठकविरुद्ध किन जारी गरियो पक्राउ पुर्जी ?, यस्तो छ कारण

पत्रकार दिलभूषण पाठकविरुद्ध किन जारी गरियो पक्राउ पुर्जी ?, यस्तो छ कारण

पत्रकार दिलभूषण पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत (साइबर अपराधसम्बन्धी) कसुरमा पक्राउ पुर्जी जारी भएको छ। प्रहरीको एक उच्च स्रोतले उक्त जानकारी पुष्टि गरेको हो।

प्रहरी स्रोतले भन्यो, “उहाँ (दिलभूषण पाठक) विरुद्ध साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको छ। बाँकी विषयहरू अनुसन्धानकै क्रममा छन्।”

यद्यपि पक्राउ पुर्जी जारी गरिएको पुष्टि भए पनि पाठकविरुद्ध कसले, के आरोपमा उजुरी दर्ता गराएको भन्नेबारे प्रहरीले खुलाएको छैन।

प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उजुरी परेपछि ब्यूरोले काठमाडौं जिल्ला अदालतसँग पक्राउ पुर्जीका लागि अनुमति मागेको थियो। अदालतले अनुमति दिएपछि पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो।

किन जारी गरियो त पाठकविरुद्ध पक्राउ पूर्जी?

तीन हप्ता अगाडि पत्रकार पाठकले आफ्नो युट्युब च्यानलमा हिल्टन होटलको सेयर खरिदबिक्रीसम्बन्धी सामग्री सार्वजनिक गरेका थिए।

उक्त सामग्रीमा उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीर देउवाको चर्चा गरेका थिए। उनले जयवीरले दुबई, अष्ट्रेलिया हुँदै क्यानडासम्म रियल स्टेट व्यवसाय फैलाएको र नक्शालस्थित पाँचतारे होटल हिल्टनमा पनि शंकर ग्रुपको मुख्य लगानी रहेको दाबी गरेका थिए। साथै, जयवीरको सम्पत्तिबारे प्रश्न पनि उठाएका थिए।

यस सम्बन्धमा शंकर ग्रुपले वैशाख २१ गते एक विज्ञप्ति जारी गर्दै पाठकले सार्वजनिक गरेका विषयहरू खण्डन गरेको थियो। विज्ञप्तिमा, यस्ता भ्रामक समाचारहरूले व्यवसायको प्रतिष्ठा र राजनीतिज्ञको राजनीतिक जीवनमा नकारात्मक असर पर्ने भन्दै कानुनी प्रक्रिया अघि बढाउने उल्लेख गरिएको थियो।

“राजनीतिक व्यक्ति र व्यापारिक घरानाको नाम जोडेर नभएको विषय सृजना गरी सार्वजनिक गरिएका यस्ता भ्रामक समाचारहरूले व्यवसाय र राजनीतिमा गम्भीर असर पार्ने भएकाले, नेपालको प्रचलित कानुनअनुसार आवश्यक कानुनी प्रक्रिया अपनाइनेछ।”, विज्ञप्तिमा भनिएको  थियो ।

त्यसैले यही विषयलाई लिएर पाठकविरुद्ध  पक्राउ पुर्जी जारी गरिएको अनुमान गरिएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.