शालिनदी मेलामा बढी मूल्य असुल्नेलाई कारबाही

शालिनदी मेलामा बढी मूल्य असुल्नेलाई कारबाही

हिजोदेखि साँखुमा शुरु भएकोे हिन्दु धर्मावलम्बीहरुको श्रीस्वस्थानी व्रतकथा तथा शालिनदी मेलाको सुरक्षालाई लक्षित गर्दै ९० प्रहरी परिचालन गरिएको छ।

मेलामा हुने आपराधिक तथा लुटपाटको गतिविधि नियन्त्रणका लागि सादापोसाक सहितको प्रहरी टोली परिचालन गरेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिनुभयो ।

शालिनदीमा स्वस्थानी बर्तालुको निकै घुइँचो लाग्ने गर्दछ । यसै भीडको फाइदा उठाएर चोरी तथा लुटपाटमा संलग्न समुहहरु हुनसक्ने बताउँदै खनालले कडा निगरानी सहितको महिला प्रहरी टोली समेत परिचालन गरेको बताउनुभयो ।

एकमहिनासम्म लाग्ने मेलामा मन्दिर परिसरभित्र चौविसैघण्टा खटिन ३० प्रहरी परिचालन गरिएको छ । रातको समयमा हुनसक्ने घटनाको चुनौतीलाई मध्यनजर राख्दै पुरा रातनै प्रहरीलाई खटाइएको हो ।

सुधार समिति, प्रहरी र स्थानीयले मेला आउने भक्तजन तथा साना–साना बालबालिकाहरु हराउने हुँदा सुरक्षा सहितको ‘हेल्प डेस्क’ पनि राखिएको छ ।

मेलामा विभिन्न सामग्री तथा खाध्य बस्तुकोे बढी मूल्य असुल्ने तथा कम गुणस्तरका खाद्यवस्तु विक्रीवितरण सम्बन्धी जाँच गर्न शङ्खरापुर नगरपालिका प्रमुखको संयोजकत्वमा समिति समेत गठन गरिएको छ । बढी मूल्य असुल्ने तथा कम गुणस्तरका खाद्यवस्तु विक्रीवितरण गरेको पाइएमा तुरुन्त कारबाही गरिने नगरपालिका प्रमुख सुर्वण श्रेष्ठले बताउनुभयो ।

मेला भर्न ३० लाख भक्तजन आउने माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिकोे अनुमान छ । मेला भर्न आउने भक्तजनको भीड बढ्ने दिनमा सार्वजनिक यातायात रातको नौ बजेसम्म सञ्चालनमा ल्याउने व्यवस्था मिलाइएको समितिका अध्यक्ष गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । मेलाका लागि आउने सर्वसाधारणलाई जथाभावी भाडा लिने गुनासो आउने भएकाले श्रेष्ठले सार्वजनिक यातायातमा भाडादर टाँस्न समेत लगाएको बताउनुभयो ।

मेलामा आउनेहरुका लागि पार्किङ, पुजारी व्यवस्थापन, सरसफाइ र सुरक्षा व्यवस्था मिलाइएको छ । यो महिनाभर स्नान गरी स्वस्थानी तथा माधव नारायणको आराधना गरे पुण्य मिल्ने जनविश्वास सहित काठमाडौँ उपत्यका तथा उपत्यका बाहिरका विभिन्न जिल्लाबाट भक्तालुहरु आउने समितिले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.