पदको दुरुपयोग गरेको गुनासो बढे सङ्गै घुमुवा प्रहरी हटाइयो

पदको दुरुपयोग गरेको गुनासो बढे सङ्गै घुमुवा प्रहरी हटाइयो

जिल्ला प्रहरी कार्यालय चितवनले सादा पोशाकमा सूचना सङ्कलनका लागि खटाइएका घुमुवा प्रहरी हटाएको छ। ती प्रहरीमध्ये कतिपयले पदको दुरुपयोग गरेको गुनासो बढेपछि छुट्टै विभागको गठन गरेर घुमुवा हटाइएको हो।

कार्यालयमा प्रमुखका रुपमा प्रहरी उपरीक्षक दानबहादुर मल्ल आएपछि सूचना सङ्कलन तथा विश्लेषण शाखा स्थापना गरी घुमुवा प्रहरी हटाइएको हो। मल्लले गुनासो बढेपछि सादा पोशाकका ती प्रहरीलाई हटाएर फरक ढङ्गले प्रहरी परिचालन गरिएको जानकारी दिए।

उनका अनुसार हालै स्थापना गरिएको शाखामा प्रहरी निरीक्षकको नेतृत्वमा विभिन्न पदका १२ जना अनुभवि प्रहरी परिचालन गरिएको छ। उनीहरु यसअघि अनुसन्धानमा खटिइसकेका र अनुभवि रहेको मल्लको भनाइ छ। उनीहरुलाई प्रहरी नायब उपरीक्षकले सुपरिवेक्षण गर्ने व्यवस्था मिलाइएको छ।

क्षेत्र विभाजन गरेर शाखाका प्रहरी खटिने गरेका छन्। खटिएको ठाउँको विस्तृत विवरणसमेत उनीहरुले तयार गर्ने हुँदा काममा समेत छिटो र छरितो हुने गरेको प्रहरी नायब उपरीक्षक एक नारायण कोइरालाले जानकारी दिए। जसका कारण दोषीलाई समयमा म्याद थप गर्न र अनुसन्धान गर्न सहज भएको कोइरालाको भनाइ छ।

प्रमुख मल्लले अहिले जिल्लामा घुमुवा प्रहरी परिचालन नभएकाले त्यसका नाममा पदको दुरुपयोग कसैले गरेमा तत्काल खबर गर्न सार्वजनिक रुपमा आह्वान गरिएको बताए। अहिले गठन गरिएको शाखाले अपराध अनुसन्धान महाशाखाले जस्तै गरी काम गर्ने जनाइएको छ। रासस

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.