नगरप्रमुख थापाविरुद्धको रिट खारेज

नगरप्रमुख थापाविरुद्धको रिट खारेज

दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाविरुद्ध गरिएको रिट उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासले आइतबार खारेज गरेको छ ।

अदालतका मुख्य न्यायाधीश पवनकुमार शर्माको एकल इजलासले रिट खारेज गरेको थापाका तर्फबाट बहसमा सहभागी अधिवक्ता गङ्गाराम पाध्यायले जानकारी दिनुभयो । रिट निवेदकले उल्लेख गरेका कुराको प्रमाण नपुगेकाले रिट खारेज भएको अदालत स्रोतले जनाएको छ । विसं २०७४ असार १४ गते भएको सो नगरपालिकाको निर्वाचनको मतगणनामा धाँधली भएको भन्दै थापाविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार पुष्करराज जोशी ‘लख्खाभाइ’ले उच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

अदालतले मतगणना प्रक्रियागत भएको, मुचुल्का तथ्यका आधारमा भएको र निर्वाचन ऐन २०७३ को दफा ५२ अनुसार रिट निवेदन रीत नपुगेको भन्दै सो मुद्दा खारेज गरेको हो । दशरथचन्द नगरपालिकाका प्रमुख थापाले निर्वाचनमा तीन हजार ७६२ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी जोशीले तीन हजार ७०० मत प्राप्त गर्नुभएको थियो । जोशीले थापाविरुद्ध २०७४ असार २० गते मुद्दा दायर गर्नुभएको हो ।
–––

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.