सामाजिक सञ्चालमार्फत व्यक्ति, संस्था र समूहलाई गाली गरेर रमाउनेको जमात बढ्दो छ । हिजोआज सामाजिक सञ्जालमा मन नपरेका व्यक्ति समूहलाई गाली गर्ने मात्र होइन, मनोगत कुण्ठा पोख्नेहरूको जमात उत्तिकै सक्रिय छ ।

नेपालमा दुई वटा सामाजिक सञ्जाल चल्तीमा छन्, फेसबुक र ट्वीटर । यिनकै माध्यमबाट मानिसहरूले मनमा लागेको कुरालाई नधकाई अभिव्यक्त गर्छन् र त्यसको परिणाम खोज्छन् । सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालको पहुँच विस्तार भएको छ । सहज पहुँचका कारण आम मानिस यसमा अभ्यस्त भइसकेका छन् ।

सरकारी कार्यालयले पनि आफ्नो आधिकारिक फेसबुक र ट्वीटरका साइटहरू सञ्चालनमा ल्याएका छन् । कार्यालयको आधिकारिक साइटमा आवश्यक जानकारीहरू राख्न त्यसबाट सहज सूचना प्राप्त गर्न सजिलो भएको छ । कार्यालयसँग सम्बन्धित कतिपय गुनासाहरू पनि समाधान भएको पाइन्छ । जसले समाजलाई सकारात्मक दिशातर्फ उन्मुख गराएको छ भने सूचनाको भरपर्दो माध्यम पनि बनेको छ । यस्ता सामाजिक सञ्जाल सूचनामूलक सन्देश प्रवाह गर्ने भरपर्दो माध्यम बनेका छन् । खासगरी यसले युवा पुस्तालाई नराम्रोसँग झुक्याएको छ । फेसबुक र ट्वीटरबिना उनीहरू पानीबिनाको माछाजस्तै छट्पटिने अवस्था छ । सामाजिक सञ्जालमा पोस्ट हुने सकारात्मक, नकारात्मक सन्देश हेर्ने, आफ्नो धारणा अभिव्यक्त गर्ने उनीहरूको दिनचर्या नै बनिसकेको छ । यसबाट अलग्गिएर बस्नु कतिपयको हकमा कल्पनाभन्दा बाहिरको विषय बनिसकेको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले यसलाई सन्देशमूलक बनाउनेभन्दा पनि त्यसलाई मनोगत कुण्ठा पोख्ने भरपर्दो माध्यम बनाउँदा कतिपय सन्दर्भमा व्यक्ति र समाजको प्रतिष्ठा र त्यससँग जोडिएका सबै अवयवहरूलाई असर गरेको छ । यस्ता सञ्जालमा प्रस्तुत हुने कतिपय सामग्रीले व्यक्तिको भावनामा चोट पुगेको हुन्छ । संघ संस्थाको छविमा आँच पु¥याउने काम पनि गरिरहेको हुन्छ ।

यसैगरी राजनीतिक दल वा सामाजिक अभियानकर्ताहरू यस्ता सञ्जालको चर्को सिकार भएका छन् । यस्ता सञ्जालबाटै उनीहरूको पनि अनावश्यक र अस्वाभाविक आलोचना भइरहेको देखिन्छ । यसबाट अत्यन्त गलत संस्कारको विकास भइरहेको देखिन्छ । सूचना र प्रविधिको विकाससँगै त्यसको भरपुर उपयोग गर्ने सन्दर्भमा विकृतिका पोकाहरू छरपस्ट हुन थालेको बुझ्न सकिन्छ । व्यक्तिगत चरित्र हत्या गर्ने, अश्लिल भिडियो पोस्ट गर्ने, सामाजिक रूपमा व्यक्तिको मानमर्दन गर्ने, व्यक्तिगत बदलाको भावना प्रेरित भएर आवेशपूर्ण भावाभिव्यक्ति पोस्ट गर्ने प्रवृत्ति दिनदिनै बढ्दै गएको छ । जसका कारण प्रहरीले अन्य अपराधमा जस्तै यसलाई एक जटिल अपराधका रूपमा अनुसन्धान गर्न थालेको छ ।

प्रहरीले साइबरबाट हुने अपराधको अनुसन्धानका लागि छुट्टै ब्युरोसमेत गठन गर्ने तयारीमा पुगेको छ । इन्टरनेटमा नेपालीको पहुँच जति बढ्दो छ, त्योभन्दा डरलाग्दो रूपमा इन्टरनेटमा आधारित अपराध बढ्दै गएको छ । हाल हाम्रो मुलुकमा साइबर अपराधअनुसार विशेष गरेर सामाजिक सञ्जालसँग सम्बन्धित गतिविधि मात्रै देखा परेका छन् । इमेलसम्बन्धी गतिविधि पनि केही हदसम्म देखा परेका छन् । त्यहाँ विशेष गरी ठगीका अपराधहरू बढी छन् । सामाजिक सञ्जालको प्रयोगबाट हुने अपराधका कारण सुरक्षा निकायमा चुनौतीको विषय बनेको छ । साइबर अपराधले नागरिकको सुरक्षामा मात्रै होइन, सरकारी वेबसाइट ह्याकिङदेखि महŒवपूर्ण सूचना बाहिरिनेसम्म चुनौती बढेको छ । सूचना प्रविधिको दुरुपयोगबाट हुने अपराधमा धेरैजसो महिला पीडित हुने गरेका छन् । यस्तो अपराधको सिकार भएका अधिकांश युवतीहरूमा मानसिक पीडा बढाएको मात्र छैन, कतिपय युवतीले ज्यानै गुमाउनु परेको र कतिपय युवा डिप्रेसनको सिकारसमेत भएका छन् ।

के हो साइबर अपराध ?

विकीपिडियामा उल्लेख गरेअनुसार खासगरी साइबर माध्यमको दुरुपयोग गरेर हुने गलत तथा गैरकानुनी क्रियालाई साइबर अपराध भनिन्छ । विद्युतीय उपकरणहरू कम्प्युटर, मोबाइल, तथा यसको नेटवर्कका माध्यमबाट हुने कुनै पनि प्रकारका आपराधिक कार्यलाई साइबर अपराधका रूपमा परिभाषित गरिएको छ । अन्य अपराधभन्दा यसको प्रकृति र शैली बिलकुल फरक छ भने यसको प्रभाव पनि शक्तिशाली र आम रूपमा हुन्छ । विद्युतीय प्रविधिको गलत प्रयोगले निम्त्याउने यो अपराध अन्य अपराधभन्दा भिन्न शैलीको छ । इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इन्टरनेट फ्रड (धोकाधडी), अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउन्ट आदिको चोरी गरी गरिने बैंकिक कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पु¥याइने क्षतिलगायत अवैधानिक कार्यलाई पनि विश्वका अधिकांश मुलुकका कानुनले साइबर अपराध मानेको छ ।

नेपालमा साइबर अपराधको नियमनका लागि विद्युतीय कारोबार ऐन, २०६३ बनेको छ । यही ऐनका आधारमा कार्बाही हुने गरेको छ । सो ऐनको दफा ४७ नेपालमा हुने साइबर अपराध रोक्न सबैभन्दा बढी प्रयोग हुने र सबैभन्दा बढी विवादित दफा हो । यस दफाले कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यमहरूमा नैतिकता, शिष्टाचारविरुद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रदर्शन गरे दोषीलाई १ लाख रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । दफा ४७ विवादित भएपछि साइबर अपराध रोक्ने छुट्टै कानुन निर्माण गर्नुपर्ने माग बढिरहेको छ । पछिल्लो समयमा खासगरी फेसबुक प्रयोगले साइबर अपराध बढाएको स्पष्ट देख्न सकिन्छ । नेपालमा सबैभन्दा धेरै प्रयोगकर्ता भएको सामाजिक माध्यम फेसबुक हो । जसको एन्ड्रोइड मोबाइल छ, उसले फेसबुक अनिवार्य प्रयोग गरेको पाइन्छ । पछिल्लो एक सर्वेक्षणअनुसार नेपालमा फेसबुकका प्रयोगकर्ता ५० लाखभन्दा बढी छन् । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो अध्ययनअनुसार ३८ प्रतिशत नेपालीसँग इन्टरनेट पहुँच पुगेको छ । त्यसमध्ये पनि मोबाइलबाट इन्टरनेट चलाउनेहरू बढी छन् । सो प्रतिवेदनअनुसार नेपालमा इन्टरनेट प्रयोगकर्ता १ करोड २ लाख ७६ हजार ७ सय ४८ पुगेको देखाएको छ । अब स्थानीय तहमा इन्टरनेट केबुल जाने भएपछि यो संख्या बढ्नेछ । सो तथ्यांकलाई आधार मान्ने हो भने ८९ प्रतिशत मोबाइलबाट इन्टरनेट चलाउनेहरू छन् ।

बढ्दो छ यसको ग्राफ

साइबर अपराधको ग्राफ बढ्दै गएपछि प्रहरी प्रधान कार्यालयले साइबर ब्युरो नै नै बनाउने तयारी गरेको छ । अहिले महानगरीय प्रहरी अपराध महाशाखामा यसको मुद्दा चल्ने गरेको छ । साइबर अपराधसम्बन्धी विशेष अनुसन्धान महाशाखाबाट हुने गरेको छ ।

फेसबुक, ट्वीटर, बैंकिङ, अनलाइन, एटीएमलगायतका क्षेत्रमा बढी साइबर अपराध हुँदै आएका छन् । यसमा चलचित्र प्रतिलिपि अधिकार हनन गर्ने, केटीका नाममा फेसबुक आईडी बनाएर पैसा माग्ने र सरकारी बेकसाइट ह्याक गर्नेहरू पनि यो अपराधमा पर्नेछन् । चालू आर्थिक वर्षको ६ महिनामा साइबर अपराधसम्बन्धी उजुरी हेर्ने हो भने ५ सय ६० उजुरी दर्ता भएका छन् । पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, अनलाइनलगायतका सामाजिक सञ्जालमार्फत अपराध गर्नेको संख्या बढेको पाइएको छ ।

पछिल्लोपटक भरतपुर महानगरपालिकाको स्थानीय तहको निर्वाचनमा प्रमुखका प्रत्यासी देवीप्रसाद ज्ञवालीका छोरा निरव ज्ञवालीको पक्राउले पनि यो विषयलाई निकै तताएको थियो । त्यसबाहेक अन्य सर्वसाधारणका तर्फबाट पनि साइबर अपराधसम्बन्धी उजुरी पर्ने गरेका छन् । प्रविधिको विकाससँगै साइबर अपराधसम्बन्धी घटना वृद्धि हुने गरेका छन् । गत आर्थिक वर्षमा ८ सय ३० उजुरी महाशाखामा परे पनि यो चालू आवको ६ महिनामा नै ५ सय ६० उजुरी दर्ता भएका थिए । तर अदालतमा पुग्दा ११ वटा मुद्दा दर्ता भएका थिए भने अघिल्लो वर्ष यही समयमा १७ वटा मुद्दा दर्ता भएका थिए । प्रहरी रेकर्डअनुसार साइबर अपराधको बाढीचाहिँ यतिबेला विदेशमा बस्ने नेपालीहरूले बगाइरहेका छन् । त्यसले गर्दा नेपालमा बस्नेहरू त्यसबाट बढी पीडित भएका छन् ।

अन्त्यमा

अधिवक्ता दीपककुमार विष्टले नेपाल कानुन डटकम अनलाइन संस्करण लेखेअनुसार साइबर अपराधको परिभाषा छुटै नगरिए तापनि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ५२, ५३, ५४ र ५५ मा साइबरसँग सम्बन्धित केही कार्यलाई निषेध गरी त्यसको उल्लंघनलाई सजायको व्यवस्था गरेको भए तापनि साइबर अपराधबारे भने प्रस्ट बोलेको पाइँदैन । उनका अनुसार सामान्यतः साइबर स्पेसमा रहेका सूचनाहरू पीडितको इच्छा बेगर कम्प्युटरको दुरुपयोग गरी कुनै भौतिक शक्ति प्रयोग नगरी निर्माण गर्नु, वितरण गर्नु, परिवर्तन गर्नु, चोरी गर्नु, दुरुपयोग गर्नु वा नाश गर्नु साइबर अपराध हो । अमेरिकाको न्याय विभाग (मन्त्रालयका) अनुसार, अपराध कानुनको त्यस्ता सबै उल्लंघन साइबर अपराध हुन् जसको क्रिया, अनुसन्धान तथा अभियोजनमा कम्प्युटरको प्रयोग हुन्छ । सन् २००२ को अप्रिल महिनामा डिसेप्टिभ ड्युबोका नामले प्रख्यात ह्याकरहरूको आक्रमणले अमेरिकाको संघीय रक्षा विभागका डिफेन्स लजिस्टिक सर्भिस, स्वास्थ्य मामिला कार्यालय, नासाको एम्स अनुसन्धान केन्द्रलगायतका कार्यालयहरूको वेभ साइटहरू एकैचोटि ध्वस्त भयो । साइबर अपराधको यो एउटा प्रतिनिधि घटना भएको अधिवक्ता विष्टले आफ्नो लेखमा उल्लेख गरेका छन् ।

राजधानी दैनिकबाट