संविधान विरोधी गतिविधि हुन नदिन चनाखो र सक्रिय रुपमा काम गर्नु पर्ने: गृहमन्त्री थापा

संविधान विरोधी गतिविधि हुन नदिन चनाखो र सक्रिय रुपमा काम गर्नु पर्ने: गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राज्यको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डताको सुरक्षा महत्वपूर्ण भएको विचार व्यक्त गर्दै राज्य तथा संविधान विरोधी गतिविधि हुन नदिन सबै सुरक्षा निकायले चनाखो भई अझ सक्रिय रुपमा काम गर्नु पर्ने बताउनु भएकाे छ ।

शनिबार धनुषाको जनकपुरधाममा आयोजित कार्यक्रमबीच २ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठी समापन  गर्ने क्रममा मन्त्री थापाले यो कुरा बताउनु भएकाे हाे ।नेपाल सरकार गृह मन्त्रालयको वार्षिक कार्यक्रम अनुरुप शुक्रबारदेखि शुरु भएको उक्त गोष्ठी शनिबार सम्पन्न भएको थियो ।

गोष्ठी समापनका अवसरमा गृहमन्त्री थापाले राज्यको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डताको सुरक्षा महत्वपूर्ण भएको विचार व्यक्त गर्दै राज्य तथा संविधान विरोधी गतिविधि हुन नदिन सबै सुरक्षा निकायले चनाखो भई अझ सक्रिय रुपमा काम गर्न साथै धार्मिक, क्षेत्रीय, वर्गीयलगायत कुनै पनि किसिमका द्वन्द्व हुन नपाउने गरी सुरक्षा व्यवस्था मिलाउन सबै सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।

२ नम्बर प्रदेशमा विद्यमान शान्ति सुरक्षाको अवस्था सन्तोषजनक रहेको चर्चा गर्दै गृहमन्त्री थापाले बारा र पर्सामा हावाहुरीबाट सिर्जित विपद पीडितहरुको उद्दार र राहत कार्यमा सबै सुरक्षा निकायले देखाएको सक्रियताको सराहना समेत गर्नुभयो । समाजमा शान्ति सुरक्षा स्थापना तथा सुव्यवस्था कायम गर्नमा केन्द्रीय, प्रदेश र स्थानीय तहको समन्वयात्मक सहकार्य हुनुपर्ने बताउँदै गृहमन्त्री थापाले भष्ट्राचार नियन्त्रण गरी सुशासन प्रवर्द्धन गर्न सबै सरोकारवाला निकाय एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

राष्ट्रसेवकहरु नै आमनागरिकका लागि अनुकरणीय बन्नुपर्ने बताउँदै उहाँले समुदाय-प्रहरी साझेदारी कार्यक्रम नेपाल प्रहरी मात्रको नभई शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि सबै सरोकारवाला निकायको साझा कार्यक्रम रहेको हुँदा कार्यक्रमलाई अझै सुदृढ र व्यापक बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

उक्त गोष्ठीमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता राम कृष्ण सुवेदी, सहसचिव ईन्दु घिमिरे, २ नम्बर प्रदेश अन्तर्गत ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू लगायत सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.