राष्ट्र र नागरिकको सफलतापूर्वक सुरक्षा गर्ने नेपाल सरकारको मुख्य जिम्मेवारी : गृहमन्त्री थापा

राष्ट्र र नागरिकको सफलतापूर्वक सुरक्षा गर्ने नेपाल सरकारको मुख्य जिम्मेवारी : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राष्ट्र र नागरिकको सफलतापूर्वक सुरक्षा गर्ने नेपाल सरकारको मुख्य जिम्मेवारी रहेको बताउनु भएकाे छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्‍जमा आयोजित प्रथम समूहको रणनीतिक तथा नेतृत्व विकास तालिमको समापनमा गृहमन्त्री थापाले यो कुरा बताउनु भएकाे हाे । राष्ट्रिय अनुसन्धान विभागका सह-अनुसन्धान निर्देशक र उप-अनुसन्धान निर्देशकहरुको लागि उक्त तालिम संचालन भएको हो ।

गृहमन्त्री थापाले देशकोअर्थतन्त्रको रक्षा र विकास गर्न आर्थिक अपराधमा संलग्न तस्कर र भ्रष्टाचारीलाई नियन्त्रण एवम् निस्तेज पार्न जरुरी रहेको विचार व्यक्त गर्दै देशको राजनीतिक प्रणाली, अर्थतन्त्रको सुरक्षा, नागरिकले प्राप्त गरेका राजनीतिक अधिकार एवम् राष्ट्र र जनताको गरिमाको सुरक्षाका लागि हामीसँग भएका ज्ञान, सिप एवम् क्षमतालाई अभिवृद्धि गर्नुपर्ने उल्लेख गर्नुभयो ।

उच्च प्रविधिको ज्ञान सँगसँगै सुरक्षाका जिम्मेवारीलाई वहन गर्न इमान्दरिता र अनुशासन अनिवार्य रहेको समेत उहाँले बताउनुभयो । साथै गृहमन्त्री थापाले  सरकारले राज्य व्यवस्थालाई उल्टाउन सक्रिय रहेका तत्वलाई समेत निस्तेज र नियन्त्रण गर्ने सरकारको नीति रहेको स्पष्ट पार्नु भयाे ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले तालिम समापनको अवसरमा माननीय गृहमन्त्रीज्यूबाट प्राप्त सान्दर्भिक एवम् सारभूत निर्देशन तथा समसामयिक परिस्थितिसँग सवै सुरक्षा निकायले निर्वाह गर्नुपर्ने आ-आफ्नो भूमिका अक्षरस पालना गरी  फिल्डमा उतार्न प्रहरी संगठन सदैव प्रतिबद्ध रहेको बताउनुभयो ।

नेपाल सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई अझ बढी प्रभावकारी बनाउँदै चुस्त र दुरुस्त एवम् समयसापेक्ष सुदृढ गर्दै लैजाने नीति अनुरुप यो तालिम संचालन गरिएको बताउँदै प्रहरी महानिरीक्षक खनालले समाजमा शान्ति सुरक्षा कायम तथा अपराध नियन्त्रण गर्न राष्ट्रिय अनुसन्धान विभागले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा गृह मन्त्रीका सल्लाहकार, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, प्रहरी वरिष्ठ अधिकृत एवम् अन्य प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

 

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.