कुमार पौडेल प्रहरीसँगको मुठभेडमै मारिएका हुन् : गृहमन्त्री थापा

कुमार पौडेल प्रहरीसँगको मुठभेडमै मारिएका हुन् : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा (बादल)ले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको बताउनुभएको छ ।

संसदको राज्यव्यवस्था समितिको सोमबारको बैठकमा मन्त्री थापाले गस्तिमा रहेका प्रहरीलाई लक्षित गर्दै आक्रमण गर्न थालेपछि प्रहरीले गरेको जवाफी कारवाहीमा पौडेल मारिएको बताउनुभयो ।

गएको असार ५ गते अन्दाजी २ बजे लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम किनारामा रहेको उत्तर-दक्षिण बाटोमा प्रहरीको गोलीबाट पौडेलको मृत्यु भएकाे थियाे ।

प्रहरीसँगको जवाफी कारवाहीमा अन्य तीन जना भने जंगलतर्फ भागेको र त्यसक्रममा प्रहरीले प्रहार गरेको गोली अर्को एक जनालाई लागेको आशंका गरिएको पनि गृहमन्त्री थापाले बैठकमा जानकारी गराउनुभयो ।

विप्लव समूहले लालबन्दी र हरिऔन इलाकाका स्थानीय जनप्रतिनिधि, व्यापारी, व्यवसायी एवम् सर्वसाधारण व्यक्तिहरुलाई धेरै समय अगाडिदेखि जबर्जस्ती चन्दा माग्ने, चन्दा नदिएमा ज्यान मार्ने लगायतका धम्कीहरु दिने र जनमानसमा आतंक सिर्जना गर्ने गरेको मन्त्री थापाको भनाइ छ ।

घटनास्थलबाट प्रहरीले मेड इन युएसए लेखिएको रिभल्बर एक थान, कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली ६ थान बरामद गरेको जानकारी पनि मन्त्री थापाले बताउनुभयो ।

समितिको आइतबार बसेको बैठकमा नेकपाका सांसद जनार्दन शर्माले कुमार पौडेललाई पञ्चायतकालमा जसरी यातना दिएर मारेको भन्दै आक्रोस व्यक्त गर्नुभएको थियो । उहाँले घटनाका बारेमा गृहमन्त्रीले जवाफ दिनुपर्ने भन्दै बैठकमा बोलाउन माग गर्नुभएको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.