समता अस्पताल सञ्चालक सञ्जेल पत्नीसहित तीन जनालाई कर्तव्य ज्यानमुद्दा

समता अस्पताल सञ्चालक सञ्जेल पत्नीसहित तीन जनालाई कर्तव्य ज्यानमुद्दा

महानगरीय प्रहरी परिसरले काठमाडौंको बौद्धस्थित समता अस्पताल सञ्चालक उत्तम सञ्जेलकी श्रीमतीसहित तीन जनालाई नियन्त्रणमा लिई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको छ। परिसरले सञ्जेल पत्नी कलासहित कर्मचारी पितकुमारी श्रेष्ठ र सगीता केसीविरुद्ध कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालेको हो।

गत असार ३ गते  अस्पतालमा क्लिनरको रुपमा कार्यरत रामेछाप दोरम्बाकी २७ वर्षीया बिमला तामाङले अस्पतालमा आत्महत्या गरेपछि उनीहरुलाई असार ४ गते पक्राउ गरी परिसरले अनुसन्धान थालेको थियो। सुरुमा केही अभद्र व्यवहारमा म्याद लिई अनुसन्धान थालिएको थियो। तर, कर्तव्य ज्यान नै आकर्षित देखिएपछि सोहीबमोजिम नै मुद्दा अघि बढाइएको परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

तामाङलाई आत्महत्या गर्न दुरुत्साहन गरेको पाटोमा अनुसन्धान आवश्यक देखिएकाले कर्तव्य ज्यानमुद्दा चलाइएको बोगटीले बताए। ‘आत्महत्याका दुई वटा कारण हुन्छन्, एउटा व्यक्तिगत र अर्को दुरुत्साहन,’ परिसर प्रमुख उत्तम सुवेदीले भने, ‘सुसाइड नोटमा महिलाले नाम लेखेका कारण यो दुरुत्साहन हो भन्नेतर्फबाट अनुसन्धान थालिएको बोगटीले बताए।’ यसमा थप अनुसन्धान जारी रहेकाले भित्री पक्षबारे प्रहरीले जानकारी दिएको छैन।

अस्पतालभित्रै आत्महत्या गरेकी तामाङको साथबाट कला अधिकारीसहित केही कर्मचारीको नाम उल्लेख गरिएको सुसाइड नोट भेटिएको थियो । कागजमा तीर्थ र संगीताको नाम अंग्रेजी अक्षरमा लेखिएको थियो भने तेस्रो अक्षर ‘म्याम’ थियो । सो सुसाइड नोटको कागजलाई परीक्षण गर्न विधि विज्ञान प्रयोगशाला पठाइएको छ ।

उक्त प्रकरणमा अझै अनुसन्धान गर्न दुई साता समय लाग्ने प्रहरीले जनाएको छ। ‘हामी सबै पक्षबाट अनुसन्धान गरिरहेका छौं, रिपोर्टमा आत्महत्या देखिएको छ तर आफन्त यो स्वीकार्दैनन्,’ प्रवक्ता बोगटी भन्छन्, ‘सुसाइड नोटमा नाम उल्लेख छ, आत्महत्या गर्न बाध्य पारिएको पाटोमा अनुसन्धान गर्न मुलुकी फौजदारी संहिताले गाइड गरेको छ। त्यो पक्षको यथार्थ पत्ता लगाएर अदालतमा मुद्दा बुझाउँछौं।’

कर्मचारीले आत्महत्या गरेपछि आक्रोशित स्थानीयले अस्तालमा तोडफोड र नाराबाजी गरेका थिए। उनीहरुले आत्महत्या नभएको दाबी गरी अनुसन्धान गर्नुपर्ने मुद्दा उठाएका थिए।

यता, तामाङको शव पोस्टमार्टमको रिपोर्ट आइसकेको छ । जसमा तामाङले आत्महत्या गरेको देखिएको छ । मुलुकी फौजदारी संहितामा आत्महत्या गर्न दुरुत्साहन गरेको प्रमाणित भए कर्तव्य ज्यानमुद्दा चल्छ र प्रमाणित भए पाँच वर्ष सजाय हुने व्यवस्था छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.