जागिरको प्रलोभन देखाई एक दर्जन बढी महिलाको बलात्कार गर्ने युवक पक्राउ

जागिरको प्रलोभन देखाई एक दर्जन बढी महिलाको बलात्कार गर्ने युवक पक्राउ

जागिरको प्रलोभन देखाई एक दर्जन बढी महिलाको बलात्कार गरी लुटपाट गर्ने सप्तरीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

लामो समयदेखि प्रहरीको खोजीमा रहेका अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ का २८ वर्षीय सञ्जीव खड्का नाम बताउने सन्तोषकुमार यादवलाई सप्तरी प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

रोजगारी डटकममार्फत एनआईसी बैंकलगायत विभिन्न गैरसरकारी संस्थामा जागिर लगाइदिने भन्दै सम्पर्क बनाई सन्तोषले धेरै महिलालाई जालमा पारी बलात्कार र लुटपाट गर्ने गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताउनुभयो ।

आरोपितविरुद्ध पाँच जनाको उजुरी परेको र मौखिक उजुरी दिने अन्य महिला पनि प्रहरीको सम्पर्कमा रहेको प्रहरी नायब उपरीक्षक मिश्रले बताउनुभयो । सामाजिक सञ्जाल र इमोमार्फत फोन सम्पर्क गरी जागिर लगाइदिने भन्दै विराटनगर बोलाउने यादवले त्यहाँबाट आफ्नो गाउँ लगेर बलात्कार तथा लुटपाट गर्ने गरेको खुलेको छ ।

यादवलाई पक्राउ गर्नुअघि प्रहरीले उनको घरमा छापा मारी लुटिएका युवतीको मोबाइल, नगद र गरगहना बरामद गरिसकेको छ । प्रहरीले यादवको घरबाट लुटिएका महिलाको पर्स, आठ वटा मोबाइल, सुन र चाँदीका गरगहना, नगद ३४ हजार, सनराइज बैंकको भिसा कार्ड, दुई वटा चेकबुक, आन्तरिक राजश्व विभागको एक पोका स्टिकर, चक्कु, खुकुरी र छुरी बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मिश्रका अनुसार यादवले नेपालगञ्ज, सिन्धुपाल्चोक, सोलुखुम्बु, कञ्चनपुरलगायत विभिन्न जिल्लाका युवतीलाई जागीरको प्रलोभनमा फसाएर लुटपाट गरेका छन् ।

यादवाविरुद्ध धेरैवटा उजुरी परेपछि पक्राउको योजना बनाएको सप्तरी प्रहरीले उनलाई पक्राउ गर्नुअघि विभिन्न प्रमाण सङ्कलन गरिसकेको जनाएको छ । प्रहरीले यादवलाई विशेष सूचनाको आधारमा भदौ १४ गते मोरङको बुढीगङ्गा गाउँपालिका–३ नेमुवास्थित कोठाबाटै पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमार्फत युवतीलाई विराटनगर बोलाउने यादवले दिनभरि अलमल गरी साँझ पार्ने गरेको पीडितले बताएका छन् । साँझ परेपछि ‘विराटनगरको जागिर त खुस्कियो सप्तरीमा एउटा जागिर बाँकी छ, विराटनगरबाट बिहानै पुग्न नसकिने भएकोले अहिले नै जाऊँ’ भनेर आफ्नो गाउँ ल्याउने र राति बलात्कार तथा लुटपाट गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिनुभयो ।

यादव विगतमा जबरजस्ती करणी उद्योगको मुद्दामा कैद भुक्तान नगरी फरार रहेका अभियुक्तसमेत रहेको पनि खुलेको छ । गएको फागुनमा विराटनगरमा एक महिलालाई लुटपाट र जबरजस्ती करणी उद्योग गरेको आरोपमा मोरङ जिल्ला अदालतले उनलाई एक वर्ष छ दिनको कैद सजाय तोकेकोमा उनी कैद भुक्तान नगरी फरार रहेको प्रहरी नायब उपरीक्षक मिश्रले बताउनुभयो ।रासस

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.