भारतीय सुमोको ठक्करबाट महिलाको मृत्यु

भारतीय सुमोको ठक्करबाट महिलाको मृत्यु

सप्तरीको खडग नगरपालिका ४ करमनीयामा भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गमा जेएच १५ जे ३२०३ नम्बरको भारतीय नम्बरप्लेटको सुमोको ठक्करले को १ च ४२२८ नम्बरको मारुती भ्यानमा सवार इलाम नगरपालिका-१ की ५८ वर्षीया टंकमाया लिम्बुको मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

सुमो राजविराजबाट जनकपुर जाँदै थियो भने मारुती भ्यान काठमाडौँबाट इलामतर्फ जाँदै थियो । मारुती भ्यानका चालक टङ्कमायाका छोरा सवीन लिम्बु र छोरी सङ्गीता लिम्बु गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

सुमो गाडीमा सवार राजविराज-५ का जितेन्द्रप्रसाद साह र उनका छोरी ज्वाई धनुषाको जनकपुर १ का आशुतोष साहसमेत घाइते हुनुभएको छ । आशुतोषकी श्रीमती सोनी भने सकुशल रहेको परिवारका सदस्यले बताएका छन् ।

दुर्घटनाग्रस्त दुवै गाडीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा केशरीले बताए । घटनालगत्तै सुमो गाडीका चालक फरार भएका छन् । महिलाको शव परीक्षणका लागि लहानस्थित सप्तऋषि अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.