अज्ञात रोगबाट दुई नाबालकको मृत्यु

अज्ञात रोगबाट दुई नाबालकको मृत्यु

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा अज्ञात रोगबाट दुई नाबालकको अकालमा मृत्यु भएको छ ।

वडा नं २ पुडेनीका चतुरे थापाका चार महिनाको छोरा खम्वीरसिंह थापा र वडा नं १ मुक्तिकोटका भर्बले विकको पाँच महिनाकी छोरी डम्मकला विकको मृत्यु भएको स्थानीय आनन्द बुढाले जानकारी दिए ।

उनका अनुसार खम्वीरसिंह थापाको यही चैत ५ गते  र डम्मरकला विकको चैत ३ गते दिन मृत्यु भएको हो ।

अहिले  सो गाउँपालिकाको वडा नं १ र २ का बालबालिका तथा वृद्धवृद्धा  बिरामी परेको बताइएको छ । ज्वरो आउने, खोकी लाग्ने र हातखुट्टा दुख्ने लक्षण देखिएको गाउँपालिका उपाध्यक्ष मीना बुढाले जानकारी दिए ।

स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले प्रभावित गाउँमा स्वास्थ्यकर्मी परिचालन भएको जानकारी दिए ।

यसैगरी चुवाना, छुदरी, सुपेना, फयालगाउँ, वाउनवाडा, माझगाउँ, पुडेनी, लौडीसहितका गाउकाँ बासिन्दा बिरामी पर्न थालेका छन्  । गत माघ महिनामा ती गाउँमा  भाइरल ज्वरोको सङ्क्रमण देखिएको थियो ।

गाउँमा बिरामीको सङ्ख्या धेरै रहेको जानकारी आएको र  गाउँपालिकासँगको सहकार्यमा टोली गइसकेकाले प्रमुख पन्तले जानकारी दिए । अहेब विर्ज विकसहितको टोली प्रभावित गाउँमा पुगिसेको उनले बताए ।

गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले दुईनाबालकको मृत्यु भएको  र केही बिरामी परेको जानकारी पाएलगत्तै स्वास्थ्यकर्मी परिचालन गरी उपचार  शुरु गरिएको बताउनुभयो । गाउँपालिका केन्द्रबाट प्रभावित क्षेत्र अढाइ घण्टाको पैदल दूरीमा पर्छ ।

प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले पनि सङ्क्रमण फैलिएको खबर प्राप्त भएको बताए । प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले स्वास्थ्यकर्मी प्रभावित भनिएको गाउँतिर पठाइसकेको जानकारी दिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.