दाइजोका कारण छोरीलाई विष खुवाएर आफूले आत्महत्या

दाइजोका कारण छोरीलाई विष खुवाएर आफूले आत्महत्या

जनकपुरकी एक महिलाले छोरीलाई विष खुवाएर आफूले समेत आत्महत्या गरेकी छन्। दाइजो नपुगेको भन्दै परिवारले दिएको यातना सहन नसकि उनले विष सेवन गरेको प्रहरीले जनाएको छ।

जनकपुर शान्तिनगरकी २५ बर्से सीमा शर्माले दुई बर्से शिशुलाई विष खुवाएर आफूले समेत आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालय धनुषाको एसपी गोविन्द थपलियाले बताए।

‘माइतबाट थप दाइजो नल्याएको भन्दै सीमालाई श्रीमान्, सासु ससुरा र नन्दबाट शारीरिक तथा मानसिक यातना दिने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ’ एसपी थपलियाले भने, ‘आत्महत्या गर्न बाध्य पारेको अभियोगमा सीमाका ससुरा र सासुलाई पक्राउ गरिएको छ। उनका श्रीमान् समीर मिश्र भने फरार छन्।’

यसैबीच मृतक आमाछोरीको शोकमा दीप प्रज्वलनसँगै दोषीलाई कडा कारबाहीको माग गर्दै जनकपुरमा विरोध प्रदर्शन भएको छ।

एघार लाख दाइजो दिएर महोत्तरी भ्रमपुरकी सीमा शर्माको महोत्तरीकै हलखोरीका समीर मिश्र सँग पाँच वर्षअघि २९ वैशाख, २०७० मा मैथिली परम्पराअनुसार  विवाह भएको थियो।

दाइजोमा केटा पक्षले मागेको नगद ८ लाख, पल्सर मोटरसाइकल र दुई तोला सुन सीमाकाे परीवारले दिए।  मागेअनुसार दाइजो जोहो गर्न उनको बुवाले सात कट्ठा खेत बिक्री गरेका थिए।

केटा पक्षले भने थप नगद, सुनचाँदी र सरसमान ल्याउन दबाब दिने र नल्याए घरबाट निकाला गरिदिने धम्की दियो। ‘बहिनीलाई राम्रोसँग राखुन् भनेर मागेको सरसमान ऋण खोजेर पूरा गर्‍यौं,’ सीमाका दाजु सुजीतकुमार शर्माले भने । ‘सीमाका बुवा घरगुजारा चलाउन १५ वर्षदेखि वैदेशिक रोजगारीमा छन्।

पुस ३० गते राति सुत्ने बेलामा छोरी गौरीलाई विष खुवाएर आफूले पनि खाएको थिइन्। सीमाकाे माघ १ गते र छाेरी गौरीको  माघ २ गते उपचारकाे क्रममा ज्यान गएको हो। उनीहरूले तरकारी बालीमा प्रयोग हुने ‘सेल्फास’ नामक विषादी सेवन गरेका थिए।

मधेसमा कुप्रथाको रूपमा जरा गाडेर रहेको ‘जाइजो प्रथा’ अभिसाप बनेको महोत्तरीको पिपराकी महिला अधिकारकर्मी गुञ्जा रायले बताइन्। ‘माइतबाट दाइजो ल्याउन नसक्दा छोरीहरू जलेर मर्न र आत्महत्या गर्न गर्न बाध्य छन्,’ उनले भनिन्, ‘यो देशमा कहिलेसम्म दाइजोको निहुँमा छोरीबुहारी कुटिने हो, आगोमा जलिरहने पर्ने हो ? यो सोचनीय प्रश्न छ।’

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.