मेटासिड खुवाएर छाेराकाे हत्या गर्ने आमालाई जन्मकैद

मेटासिड खुवाएर छाेराकाे हत्या गर्ने आमालाई जन्मकैद

आफ्ना दुई नाबालक छोराहरुलाई विष खुवाएर हत्या गरेको कसुरमा महाबु गाउँपालिका १ खरिगैराकी २४ वर्षीया कल्पना नेपालीलाई दैलेख जिल्ला अदालतले जन्मकैद फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको एकल इजलासबाट उक्त फैसला गरेको दैलेख जिल्ला अदालतका सूचना अधिकारी बिनोद आचार्यले जानकारी दिए ।

कल्पनाले आफ्नो श्रीमान् गाउँबाट बिहानै रक्सी खाएर आएको विषयमा सामान्य विवाद भएको झोकमा २०७५ कात्तिक १० गते दिउँसो भुटेको भातमा मेटासिड घोलेर खुवाएपछि सात वर्षीय जेठो छोरा आयुष नेपाली र तीन वर्षीय कान्छो छोरा अमित नेपालीको मृत्यु भएको थियो।

विष खुवाएको थाहा पाएपछि स्थानीयको पहलमा अस्पताल लैजादै गर्दा आयुसको बाटोमै र अमितको उपचारको क्रममा ०७५ कात्तिक १५ गते कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो ।

आरोपित कल्पनालाई प्रहरीले कात्तिक २० गते हिरासतमा लिइ कर्तव्य ज्यान मुद्दा चलाएको थियो । प्रहरीले अनुसन्धान सकेर दैलेख जिल्ला अदालतमा मंसिर १० गते मुद्दा दर्ता गराएको थियो । सोहि दिन अदालतले पुर्पक्षका लागि जिल्ला कारागारमा थुनामा राखेको थियो ।

२०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी फौजदारी कसूर र सजाय ऐन २०७४ को दफा १७७ बमोजिक ज्यान मारेको ठहरेको र सोही ऐनको दफा ४१ बमोजिम खाद्यबस्तुमा विष हाली मारेको खुलेको कारण जन्मकैद गरिएको फैसलामा उल्लेख छ । ऐनको उपदफा ४२ ले जन्मकैद भनेको २५ वर्ष कैद हुने प्रष्ट्याएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.