तिहारमा उपत्यकामा आपराधिक क्रियाकलाप न्यूनता

तिहारमा उपत्यकामा आपराधिक क्रियाकलाप न्यूनता

तिहारका बेला काठमाडौँ उपत्यकाभित्र आपराधिक क्रियाकलापका घटनामा न्यूनता आएको छ ।

महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीका अनुसार यो महीनाको दोस्रो हप्तामा उपत्यकाका तीन जिल्लामा ८२ मुद्दा दर्ता भएका थिए । तेस्रो हप्ता अर्थात् तिहारको समयमा जम्मा ५३ वटा मुद्दा दर्ता भएका छन् ।

यसपालि उपत्यकामा सात हजारभन्दा बढी प्रहरी खटाइएकाले शान्तिसुरक्षा मजबुद भएको उहाँले जानकारी दिनुभयो । सो अवधिमा आपराधिक घटनामा पक्राउ परेका ६७३ मध्ये ८६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । अन्यलाई भने चेतावनी दिएर आवश्यक कारवाही गरी छाडिएको थापाले जानकारी दिनुभयो ।

यसपटक तिहारमा सवारी दुर्घटनामा समेत न्यूनता आएको छ । विशेष रणनीतिका साथ प्रहरीलाई परिचालन गरिएकाले पनि धेरै घटना हुन नपाएको थापाले बताउनुभयो । ट्राफिक नियम उल्लङ्घनतर्फ चार हजार ४९४ जनालाई कारवाही गरिएको छ । यसमा ९७९ जनालाई मापसे विरुद्धको कारवाही गरिएको उहाँले जानकारी दिनुभयो । तिहारको अवधिमा अपराध महाशाखाको टोलीले रु ३० लाख र काठमाडौँ प्रहरीले रु १० लाखसहित विभिन्न क्षेत्रमा गरेर कूल रु ४५ लाख बराबरको पटाका बरामद गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.