भारतमा घर फर्किरहेका मजदुरहरुलाई रेलले किच्यो, १६ को मृत्यु, चार घाइते

भारतमा घर फर्किरहेका मजदुरहरुलाई रेलले किच्यो, १६ को मृत्यु, चार घाइते

भारतमा हिड्दाहिड्दै थाकेर रेलको लाइनमा सुतेका मजदुरमाथि रेल कुदेपछि १६ जना प्रवासी मजदूरको मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार, एक स्टिल उद्योगमा काम गर्ने मजदुर लकडाउनका कारण आफ्नो घर मध्यप्रदेश फर्किदै गर्दा थाकेर रेलको लाइनमा सुतेका थिए। यो घटना महाराष्ट्रको औरंगाबादस्थित रेलवे लाइनमा भएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार बिहान केही मजदूरहरु रेलवे ट्र्याकमा सुतिरहेको बेला यो घटना भएको थियो । रेलवे ट्रयाकमा सुतिरहेका मजदूरमाथि रेल चढेको थियो । रेलका चालकले उनीहरुलाई देखेर रेल रोक्ने प्रयास गरे पनि जोगाउन सकेनन् । घटनाको जाँचका लागि आदेश दिइएको छ ।

करमाड प्रहरीका अनुसार मजदूरहरु जालनाबाट भुसावल गइरहेका थिए । त्यहाँबाट उनीहरुले रेल चढ्नुपर्ने थियो । मजदूरहरु रेलवे ट्र्याकको छेउ हुँदै हिँडिरहेका थिए । थाकेपछि उनीहरु ट्रयाकमा नै सुत्न पुगेका थिए ।

उनीहरु सुतिरहेकै वेला आज बिहान ५ः३० बजे मालबाहक रेल चलेको थियो। रेलको लाइनमै सुतिरहेका मजदुरमाथि रेल कुदेको भारतीय प्रहरीले जनाएको छ।

लकडाउनका कारण भारतमा रेल यातायात बन्द रहे पनि मालवाहक रेल सञ्चालन भइरहेको छ । ती मजदूरले आफू हिँडेको बाटोमा रेल सञ्चालन नहुने ठानेरै लिकलाई सिरानी बनाएर ढुक्कले सुतेको हुन सक्ने स्थानीयबासीको भनाइ छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.