मृत अवस्थामा चितुवा भेटियो

मृत अवस्थामा चितुवा भेटियो

दिपायल सिलगढी नगरपालिका–८ लडागडाको टिमुरदह गाउँनजिकै ब्रमण्डी सामुदायिक वनमा मरेको अवस्थामा चितुवा फेला परेको छ ।

उक्त चितुवालाई मुचुल्का तयार गरी सिलगढी ल्याउनका लागि डिभिजन वन अधिकृत रामविचारी ठाकुर, रेञ्जर सुरेश रोकाया, सिलगढी सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भोजराज शर्मा र लडागडा प्रहरी चौकीको टोली उक्त स्थान पुगेको छ ।

चितुवा अन्दाजी तीन वर्षको रहेको र शरीरमा घाउ देखिएकाले गोली लागेर मरेको हुनसक्ने वा बँदेलको आक्रमणबाट मरेको हुनसक्ने सो टोलीको प्रारम्भिक अनुमान छ । जिल्ला सदरमुकाम ल्याई परीक्षण गरेर मात्रै चितुवा मरेको कारण यकिन गर्न सकिने सिलगढी सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत शर्माले बताउनुभयो ।

ब्रमण्डी सामुदायिक वन क्षेत्रको खोल्सामा चितुवा मृत अवस्थामा भेटिएपछि सो सामुदायिक वनका अध्यक्ष झङ्कर साउदले डिभिजन वन कार्यालय र सिलगढी सव–डिभिजन वन कार्यालयलाई जानकारी गराउनुभएको थियो । उक्त चितुवाको परीक्षण पश्चात आवश्यक प्रक्रियाबाट डिभिजन वन कार्यालयको परिसरभित्रै नष्ट गरिने बताइएको छ ।
–––

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.