सा‌ंसदसँग पचास लाख माग्ने सिआइबीको फन्दामा

सा‌ंसदसँग पचास लाख माग्ने सिआइबीको फन्दामा

झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनलाई ५० लाख रूपैयाँ माग्दै ज्यान मार्ने धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले झापाका तिलकदास पराजुली र हुम्लाका प्रदीप रोकायालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार गोंगबुबाट पक्राउ गरेको हो । अपरिचित व्यक्तिले फोन र एसएमएसबाट ५० लाख रुपैयाँ मागेपछि उनले प्रहरीमा उजुरी दिएका थिए।

ब्यूरोका अनुसार पराजुलीले आफू राप्रपाको कार्यकर्ता भएको, झापाका विभिन्न कार्यक्रममा लिङ्देनसँगै हिँडेको बताएका छन्। तर, लिङ्देनले भने उनलाई नचिनेको बताएका छन्।

ब्यूरोका अनुसार पराजुली मेनपावर कम्पनीमा मान्छे ओसार्ने ‘दलाल’ हुन्। उनीविरूद्ध झापामा ठगी मुद्दा रहेको प्रहरीले जनाएको छ।

विदेश पठाउन भन्दै विभिन्न मान्छेबाट पैसा लिएका पराजुलीले रकम फिर्ता गर्न नसकेपछि सांसदलाई धम्की दिएर असुल गर्न खोजेको बताएका छन्। ‘पैसाको अभाव भएपछि ज्यान मार्ने धम्की दिएको खुलेको छ,’ ब्युरोका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले भने, ‘उनले आफू राप्रपाकै कार्यकर्ता रहेको बताएका छन्।’

पराजुलीले बसपार्कमा मजदुरी काम गर्ने रोकायाको नागरिकता प्रयोग गरी सिमकार्ड किनेर सांसद लिङ्देनलाई पटक–पटक धम्की दिएका थिए।

मार्च १७ देखि १९ सम्म लगातार धम्की आएपछि सांसद लिङ्देनले ब्युरोमा मौखिक उजुरी गरेका थिए। सो उजुरीपछि पराजुलीको खोजीमा लागेको प्रहरीले सुरूमा रोकायालाई समातेको थियो। रोकायाले पराजुलीलाई पोलेका थिए।

पराजुलीले रोकायालाई मादक पदार्थ सेवन गराएर नागरिकता माग्दै उनकै नामबाट एनसेलको सिमकार्ड किनेका थिए। ‘सिमकार्ड भोलि फिर्ता गर्छु’ भन्दै अलप भएका पराजुलीले त्यसपछि लगातार लिङ्देनलाई धम्की दिएका थिए।

प्रहरी उपरीक्षक चतुर्वेदीका अनुसार पराजुलीले लिङ्देनलाई निरन्तर रुपमा फाेन गरी ज्यान मार्ने दिएको खुल्न आएको छ। ब्युरोले पराजुली र रोकाया दुबैमाथि अनुसन्धान गरिरहेको चतुर्वेदीले बताए।

लिङ्देनका अनुसार  ‘म पैसाको लागि काम गर्ने मान्छे हुँ, मैले हत्याका लागि ५० लाखको सुपारी लिइसकेको भन्दै उनले हिन्दी भाषामा धम्क्याएका थिए ।

सुरूमा धम्की दिँदै पछि पराजुलीले पैसा मागेका थिए। ‘तपाईं राम्रो मान्छे हुनुहुँदो रहेछ, म मार्दिनँ, होसियार रहनू,’ पराजुलीले दिएको धम्कीबारे लिङ्देनले भने।

लिङ्देनले पराजुली को हुन् आफूले कहिल्यै नचिनेको बताए। ‘म व्यापारी हैन, कारोबारी पनि हैन। मसँग पैसाको कसरी आशा गर्दै धम्की दिए, अचम्म लागेको छ,’ लिङ्देनले भने, ‘यसमा अरू कारण पनि हुन सक्छन्, प्रहरीको अनुसन्धानले बताउँला।’

 

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.