मजदुरीको सिलसिलामा भारत पुगेका तीन नेपालीको ‘रहस्यमय’  मृत्यु,अनुसन्धानका लागि प्रहरीकाे टोली भारत जाँदै

मजदुरीको सिलसिलामा भारत पुगेका तीन नेपालीको ‘रहस्यमय’ मृत्यु,अनुसन्धानका लागि प्रहरीकाे टोली भारत जाँदै

मजदुरीको सिलसिलामा भारत पुगेका दाङका तीन जनाको मृत्यु भएको छ । दाङ शान्तिनगर गाउँपालिका वडा नं २ अमुवा निवासी २४ बर्षीय पूर्णबहादुर वली, २३ बर्षीय नोखिराम भण्डारी र २१ बर्षीय प्रकाश ओलीको मृत्यु भएको हो ।

चैत ६ गते पूर्णबहादुर वली बेपत्ता भएपछि नोखिराम भण्डारी र प्रकाश वली उनको खोजी गर्न भन्दै गएका थिए। वलीको खोजीमा गएका भण्डारी र वली चैत १० गते भारतको कुल्लु मनालीको भीरमूनि मृत फेला परेका थिए।

भण्डारी र वलीको शव चैत १२ गते दाङ ल्याएर प्रहरीले आफन्तको जिम्मा लगाएको थियो। वेपत्ता पूर्णबहादुर वलीलाई खोजी गर्ने क्रममा चैत २५ गते भारतको कुल्लु मनालीको पतलिकुहलको जंगलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए। वलीको शव बिहीबार दाङ ल्याइएको छ। मृतक सबै मजदुरीका लागि भारत गएका थिए।

आफन्तले शव बुझ्न मानेनन्

एकै गाउँका तीन युवाको रहस्यमय ढंगले मृत्यु भएपछि पूर्णबहादुर वलीका आफन्तले शव बुझ्न मानेका छैनन्।

आफन्तले शव बुझ्न नमानेपछि वलीको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुर शव गृहमा राखिएको छ। मृतकका आफन्तलेहरुले तीन जना युवाहरुलाई षडयन्त्रपूर्वक हत्या गरिएको हुँदा मेट बनेर गएका मियालाई कारबाही माग गरेका छन्। आक्रोसित स्थानीयले मियामाथि कारबाही माग गर्दै रातभर इलाका प्रहरी कार्यालय तुलसीपुरमा नाराबाजी गर्दै धर्ना दिएका छन्। मियालाई तुलसीपुर प्रहरीले नियन्त्रणमा राखेको छ।

‘आक्रोशित भीडले मियाको ज्यान लिनेसम्मको धम्की दिँदै रातभर नाराबाजी गरेर गेटमा धर्ना दिए,’ इप्रका प्रमुख प्रेमबहादुर शाहीले भने, ‘प्रहरीले उच्च संयमता अपनाएर रातभर उनीहरूलाई सम्झाई बुझाएर सहमति कायम गर्न सफल भएको छ।’

यसैबीच घटनाबारे सत्यत्थय बुझ्न इप्रका तुलसीपुरबाट एकजना प्रहरी अधिकृतसहित स्थानीय जनप्रतिनिधि र पीडित परिवारका सदस्य शुक्रबार नै अनुसन्धानको लागि भारत जाने सहमति भएको दाङ प्रहरी प्रवक्ताडिएसपी विनोद विक्रम शाहले जानकारी दिए। भारत जान आउन तथा त्यहाँ अनुसन्धानका क्रममा लाग्ने सम्पूर्ण खर्च शान्तिनगर गाउँपालिकाकाले बेहोर्ने सहमति भएको छ।

गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले तीन युवाको रहस्यमय मृत्युबारे सत्यतथ्य उजागर गर्न जाने टोलीको सम्पूर्ण खर्च गाउँपालिकाले बेहोर्ने जानकारी दिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.