शिक्षिकाको कुटाइबाट १४ विद्यार्थी घाइते,भाँचियो पाँच बालिकाको हात

शिक्षिकाको कुटाइबाट १४ विद्यार्थी घाइते,भाँचियो पाँच बालिकाको हात

रोल्पामा एक शिक्षिकाको कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका छन् ।

रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको निर्मम कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये कतिपयको हात नै भाँचिएको छ ।

घाइते हुनेमा कक्षा १ मा पढ्नेदेखि ८ कक्षासम्म पढ्ने विद्यार्थी छन् । घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोकाको हात आइतबार दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा प्लास्टर गरिएको छ ।

‘कसैलाई किन ढिला आइस् र कसैलाई किन कपाल राम्रो बाटिनस् भनेर सालको काठको पटरी (चिरपट)ले कुट्नु भयो,’ घाइते छात्रा गौरी घर्तीले भनिन्, ‘जहाँ हाम्रो कुनै गल्ती नै थिएन।’

उपचारमा संलग्न डा. घनश्याम शर्माका अनुसार घाइते बालिकाको जोर्नी, नाडी, कुइनो र कुममा समस्या देखिएको एवं अनुहार तथा हातसमेत सुन्निएको छ । जोर्नीमा दबाब देखिए पनि केही दिनपछि सुधार आउन सक्ने डा. शर्माले बताए । सबैलाई १५ दिनपछि फेरि फलोअप चेकअपका लागि डाकिएको डा. शर्माले बताए ।

शिक्षिका लक्ष्मी पुनले आफूले गल्ती गरेको अस्वीकार गरेकी छन् । ‘मैले कुनै रिसराग र बदलाको भावनाले बालबालिकालाई कुटेकी हैन,’ शिक्षिका लक्ष्मीले भनिन्,‘उनीहरूलाई अनुशासन सिकाउन खोजेको मात्रै हो, तर त्यो अलिकति बढी भएको मात्रै हो।’

गाउँघरकै भाइ बहिनीहरू नबिग्रिउन, गलत बाटोमा नलागून् भनेर आफूले सबैलाई विद्यालयको प्रांगणमा एक–एक लठ्ठी मात्रै हिर्काएको उनले दाबी गरिन् ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.