बुहारी दलित भएको थाहा पाएपछि परिवार नै मिलेर हत्या

बुहारी दलित भएको थाहा पाएपछि परिवार नै मिलेर हत्या

उदयपुरको कटारी नगरपालिकामा बुहारी दलित भएको थाहा पाएपछि परिवारनै मिलेर हत्या गरेको रहस्य २ बर्षपछि प्रहरीले पत्ता लगाएको छ।

जिल्लाको कटारी नगरपालिका ४ सिम्लेमा उदयपुरगढी ५ बाहुनीटारका १७ वर्षीया संगिता विश्वकर्मालाई उनकै श्रीमान युवराज कार्की, ससुरा नैनबहादुर कार्की र देवर सुजन कार्कीले हत्या गरेको रहस्य पत्तालागेको हो ।

२०७४ साल कार्तिक १४ गते सिम्लेस्थित जंगलमा सढेको अवस्थामा शव फेला परेको थियो । बिहे गरेको १५ दिनमै उनको शव फेला परेको थियो। झुण्ड्याएर हत्या गरी मान्छे नचिनियोस् भनेर उनीहरूले संगीताको अनुहारमा एसिड पनि छ्यापिदिएका थिए।

लामो अनुसन्धानपश्चात प्रहरीले हत्या भएको भन्दै गत २२ मंसिरमा देवर सुजन कार्कीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीले जानकारी दिए ।

कटारीबाटै सुजनलाई नियन्त्रणमा लिएर गरिएको अनुसन्धानपश्चात बुवा नैनबहादुर र दाजु मृतकका श्रीमान युवराज कार्कीलाई काठमाडौंको कपनबाट गत २३ मंसिरमा नियन्त्रणमा लिइएको डिएसपी केसीले बताए।

अनुसन्धानका क्रममा युवराजले विवाह गरी ल्याएका संगिता विश्वकर्मा दलित रहेको थाहा पाएपछी परिवार नै मिलेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

फोन सम्पर्कबाट आपसमा सम्बन्ध जोडेका युवराज र संगिताले भागी बिवाह गरी संगिता कार्कीको घरमा आएको पनि अनुसन्धानबाट खुलेको छ ।

घटनाबारे थप अनुसन्धान भई रहेको जनाउँदै डिएसपी केसीले गत आईतबार पुर्पक्षका लागि जिल्ला अदालतमा पेश गरिएको पनि जानकारी दिए । जिल्ला अदालतले आईतबार नै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको पनि प्रहरीले जनाएको छ ।

२ वर्ष अघि नै मृतक परिवारले प्रहरीमा जाहेरी दिएको थियो । घटनाबारे प्रहरीले २ वर्ष लामो अनुसन्धानपछी हत्या भएको निष्कर्षका साथ उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.