अनलाइन सपिङका नाममा ठगी : ६७ लाखसहित आठ जना पक्राउ

अनलाइन सपिङका नाममा ठगी : ६७ लाखसहित आठ जना पक्राउ

सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने कार्यमा संलग्न आठ जनालाई मोरङ प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा खोटाङ जन्तेखोला गाउँपालिका ४ का शिवजी खड्का, सोही ठाउँकी देवी चौलागाईं, मोरङ सुन्दरहरैंचा नगरपालिका ३ का निरन्जनप्रसाद आचार्य, सुनसरी धरान नगरपालिका वडा नं. २० विष्णुपादुकाकी भावना राई, सोही नगरपालिका वडा नं. ५ कि सरिता परियार, वर्षा कार्की, सानु गौतम र लक्ष्मी कार्की छन्।

आचार्य ठगी धन्दाका मुख्य नाइके भएको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए। आचार्यले यही धन्दामा अन्य सात जनालाई परिचालन गरेको खुलेको छ। ती मध्ये पनि खड्का र चौलागाई आचार्यको विश्वासपात्र रहेको अधिकारीको भनाइ छ। उनीहरु विराटनगर महानगरपलिका- ३ की यज्ञकुमारी खड्काको घरमा कोठा भाडामा लिएर बस्ने गरेको प्रहरीले जनाएको छ।

अन्य युवतीले भने आचार्यलाई बैंक खाता खोल्नका लागि नागरिकता दिएर ठगी धन्दामा सहयोग पुर्‍याएको खुलेको छ। आचार्यको ठगी गर्ने सञ्जाल भारतमा पनि रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

यो समूहले भारत तथा काठमाडौंमा सम्पर्क सूत्र व्यापक बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ। इलेक्ट्रोनिक्स सामानहरूको अनलाइन बिक्री गर्ने भन्दै फेसबुकमा विज्ञापन पोस्ट गरेर ठग्ने यो समूहलाई प्रहरीले दुई महिनाको समय लगाएर पक्राउ गरेको हो।

पक्राउ परेकाबाट ६७ लाख ९९ हजार ७५० रूपैयाँसहित बैंकका एटिएम कार्ड र चेक बरामद भएको मोरङ प्रहरीले जनाएको छ। उनीहरुले ७८ वटा नेपाली बैंक खाता र १४ वटा भारतीय बैंक खाता प्रयोग गर्ने गरेको खुलेको छ ।

उनीहरूलाई विभिन्न मितिमा प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार पक्राउ परेकाबाट विभिन्न बैंकका एटिएम, सही गरेका थुप्रै चेक र चेकबुक बरामद भएको छ।

सुनसरीकी छत्रकुमारी धमला, विराटनगरका रोशनकुमार मण्डल, निर्मलसिंह रायमाझी, तनहुँका रूपबहादुर आलेमगर र भक्तपुरका राज गोङ्गले उनीहरूबाट ठगिएको भन्दै जाहेरी दिएका थिए। उनीहरूले सामाजिक सञ्जालबाट ‘डिल’ गरेर खातामा पैसा पठाउन लगाई सामान नदिइकन ठगेको उल्लेख गरेका थिए।

जाहेरी परेपछि प्रहरीले यो समूहको अनुसन्धान सुरू गर्‍यो। अनुसन्धानमा ठगीका मुख्य व्यक्ति आचार्य देखिएका छन्। ‘बेस्ट बाई एपल स्टोर’ ‘बेस्ट इलेक्ट्रोनिक्स स्टोर सप होम’, ‘के मार्ट इलेक्ट्रोनिक्स’ पेजमा जोडिएर उनले ठगीको सञ्जाल विस्तार गरेको खुलेको छ। यो पेजमा बढी भारतीय व्यक्तिहरू जोडिएको देखिन्छन्। आचार्य तिनै भारतीयलाई नेपालमा ठगेको पैसा पठाउने गर्थे।

उनीहरुमाथि मुलुकी अपराध सहिता २०७४ अन्तर्गत ठगी मुद्दा, बैङ्किङ कसुर सम्बन्धि ऐन अन्तर्गत बैङ्किङ कसूर सम्बन्धि मुद्दा, सरकारी छाप कागजात दस्तखत किर्ते ,नागरिकता ऐन अन्तर्गत दोहोरो नागरिकता सम्बन्धि मुद्दा, संगठित अपराध निवारण ऐन २०७० बमोजिम मुद्दा मा अनुसन्धान भईरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.