प्रहरी कर्मचारीहरुले नागरिकले खोजेजस्तो उत्कृष्ट प्रहरी सेवा प्रवाह गर्नुपर्ने : प्रहरी महानिरीक्षक ज्ञवाली

प्रहरी कर्मचारीहरुले नागरिकले खोजेजस्तो उत्कृष्ट प्रहरी सेवा प्रवाह गर्नुपर्ने : प्रहरी महानिरीक्षक ज्ञवाली

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले राज्य र प्रहरी संगठनले सोचेजस्तो एवं आमनागरिकले खोजेजस्तो उत्कृष्ट प्रहरी सेवा प्रवाह गर्नु प्रहरी कर्मचारीको दायित्व रहेको बताउनुभएको छ ।

बारा, पर्सा र रौतहट जिल्ला तथा मातहत कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुलाई २ नम्बर ट्राफिक प्रहरी कार्यालय बारामा आइतबार आयोजित कार्यक्रममा निर्देशन दिंदै प्रहरी महानिरीक्षक ज्ञवालीले उक्त कुरा बताउनुभएको हो ।

प्रहरी समाजको अभिन्न अंग भएकोले आमनागरिकलाई व्यावसायिक एवं सहज रुपमा सेवा प्रदान गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले भन्नुभयो, ‘उत्कृष्ट सेवाको प्रतिफल स्वरुप नागरिकबाट प्राप्त स्याबासी नै हाम्रो उर्जा हो । त्यसैले नागरिक सेवालाई केन्द्रमा राखी थप उत्कृष्ट सेवा दिनेतर्फ सबै प्रहरी कर्मचारीहरु केन्द्रित र दृढ रहनुपर्छ ।’

समुदाय-प्रहरी साझेदारी कार्यक्रम लिएर जाँदा नागरिकले खोजेजस्तो सेवा प्रदान गर्न सकिने उल्लेख गर्दै उहाँले प्रहरीलाई नागरिक समाजको नजिक जान कार्यक्रमले थप प्रेरित गर्ने र यसले आफ्नै व्यावसायिकता समेत अभिवृद्धि गर्नेछ भन्नुभयो ।

अपराध अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन धैर्यता, लगनशीलता र उच्च व्यावसायिकताले मात्र सम्भव हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले लैंगिक तथा घरेलु हिंसा लगायतका घटना न्यूनीकरणका लागि सामुहिक रुपमा एक्यबद्ध भई काम गर्नुपर्ने चर्चा गर्नुभयो ।

राजश्व संकलन कार्यान्वयनको पक्ष सवल होस् भन्ने अभिप्रायले सबै सरोकारवाला निकाय र समाजका सबै समूहसँग समन्वय र सहकार्य गरी काम गर्नुपर्नेमा जोड दिंदै उहाँले सडक दुर्घटना र अवरोधको बेला कुनै सम्झौता नगरी तत्काल समस्या समाधान हुने गरी काम गर्नुपर्ने बताउनुभयो ।

प्रहरी कर्मचारीहरु उच्च आचरण र व्यवहारको नमूना बनुन् भन्ने आफ्नो उत्कट चाहना रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले कुनै स्वार्थ वा प्रलोभनमा परी काम कारवाही गरेमा वा कुनै गैरव्यावसायिक क्रियाकलापमा प्रहरी कर्मचारीहरु संलग्न भएको पाइएमा त्यसको नैतिक दायित्व सम्बन्धित कमाण्डरमा समेत हुने भएकोले त्यस्ता कार्य कुनै हालतमा क्षम्य नहुने बताउनुभयो ।

यस्ता संगठन विरुद्ध लाग्ने जो कोही सजायको भागीदार हुनुपर्ने तर असल नियतले सबैको हितका लागि संगठनको नीति अनुरुप गरेका कुराहरुको संरक्षण संगठनले गर्ने उहाँले प्रष्ट पार्नुभयो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.