नौ लाख लुटिएको घटनामा दुई जना पक्राउ

नौ लाख लुटिएको घटनामा दुई जना पक्राउ

धनगढीको पुरानो भन्सार रोडमा रहेको एनसिसी बैंक नजिकको चोकबाट आज गोली चलाई रु नौ लाख लुटिएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता हरिबहादुर ओलीले घटनामा संलग्न भएको शंका लागेर गोदावरी नगरपालिकाको गेटाबाट दुई जनालाई रु नौ लाखसहित पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो ।

आज कार्यालय समय शुरु भएलगत्तै उक्त बैंकबाट रु नौ लाख झिकेर फर्किंदै गरेका धनगढी उपहानगरपालिका–२का निर्मल कार्कीमाथि बैंक नजिकैको चोकमा मोटरसाइकलमा आएका दुई अपरिचित गोली चलाउँदै साथमा रहेको रकम लुटेर फरार भएका थिए ।

गोली लागेर घाइते कार्कीका हातबाट एउटा गोली निकालिएको छ । सेती अञ्चल अस्पताल धनगढीमा उपचाररत उहाँको अवस्था खतरामुक्त छ । धनगढीस्थित ग्लोबल आइएमई मनी ट्रान्सफरमा कार्यरत कार्की उक्त बैंकमा रकम झिकेर मनी ट्रान्सफरतर्फ जाँदै गर्दा लुटिनुभएको जनाइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.