प्रयास कुँवरको अपहरणपछि हत्या गर्नेविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दा

प्रयास कुँवरको अपहरणपछि हत्या गर्नेविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दा

गोङ्गबुका आठ वर्षीय प्रयास कुँवरको अपहरणपछि हत्या आरोपी स्याङ्जा भिरकोटका महेन्द्र सार्कीविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

जिल्ला अदालत काठमाडौँबाट आज पाँच दिनको म्याद थप गरी सो मुद्दामा अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिनुभयो । महानगरीय प्रहरी अपराध महाशाखाले आज उनलाई थप कारवाहीका लागि वृत्तमा पठाइएको छ ।
गोङ्गबुस्थित वीरेन्द्र–ऐश्वर्यमार्गको स्वस्तिक त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रविण कुँवरका आठ वर्षीय छोरा प्रयासकोे अपहरणपछि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । होटल मालिकसँग तलब र जागिरको विषयमा विवाद हुँदा आवेशमा बालकको हत्या गरेको उनले स्वीकारेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिनुभयो । सार्की कुँवरका सवारी चालक हुन् ।

मङ्सिर ११ गते होटलमा कोही नभएका बेला चकलेट खान दिई आफ्नै गाडीमा हालेर महेन्द्रले प्रयासको अपहरण गरेका थिए । सोही दिन बेलुका पौने ७ बजे नागार्जुनको जङ्गलमा लगेर घाँटी थिचेर हत्या गरी सामाखुसी खोलामा फ्याँकेको प्रहरीले जनाएको छ । उनको बयानका आधारमा खोजी गर्दा गोङ्गबुको म्हैपी पुलमुनि बिहीबार बालकको शव फेला परेको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.