प्रहरीमा नयाँ भर्ना छनौट प्रक्रिया निष्पक्ष र पारदर्शी

प्रहरीमा नयाँ भर्ना छनौट प्रक्रिया निष्पक्ष र पारदर्शी

नेपाल प्रहरीमा रिक्त रहका विभिन्न पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न संचालनमा रहेको छनौट प्रक्रिया थप निष्पक्ष र पारदर्शी रुपमा संचालन भइरहेको छ ।

नेपाल प्रहरीले दक्ष, सक्षम, निपूर्ण र शारीरिक रुपमा तन्दुरुस्त उम्मेदवार छनौटका लागि प्रहरी ऐन र नियमावलीको अधिनमा रही निष्पक्ष र पारदर्शी रुपमा छनौट गर्न जोड दिएको हो । यसका लागि प्रहरी प्रधान कार्यालय समेतबाट वरिष्ठ प्रहरी अधिकृतहरुको टोलीले स्थलगत निरीक्षण अवलोकन समेत गरिरहेको छ । छनौट प्रक्रिया लोक सेवा आयोग, स्थानीय प्रशासनका प्रतिनिधिहरु र परीक्षा बोर्डका पदाधिकारीबाट समेत प्रत्येक इभेन्टमा प्रत्यक्ष निरीक्षण हुँदै आएको छ ।

छनौट प्रक्रियालाई निष्पक्ष बनाउन भर्ना छनौट भइरहेका स्थानहरुमा विचौलियाको प्रवेशलाई पूर्णतया रोक लगाइएको छ । छनौट परीक्षामा खटिने प्रहरी कर्मचारीहरुलाई भर्ना छनौटका प्रक्रिया, ऐन नियमको पूर्ण रुपमा पालना गर्न कडा निर्देशन दिइएको छ । छनौटमा खटिने प्रहरी कर्मचारी कर्तव्यबाट च्युत नहुन, विचलित नहुन, निष्पक्ष जिम्मेवारी र दायित्व निर्वाह गर्न अभिप्रेरित गरिएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता/सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी भन्नुहुन्छ, “भर्ना छनौट प्रक्रिया नियाल्न छनौटस्थलमा सिसि टिभी राख्नुका साथै मूभी क्यामेरा प्रयोग गरी निग्रानी गर्ने गरिएको छ । परीक्षामा खटिने जो कोहीले पक्षपातपूर्ण काम गरेमा कडा कारवाही हुन्छ ।”

परीक्षार्थीलाई विचौलियाको लोभलालच र कुनै पनि प्रलोभनमा नपर्न परीक्षा केन्द्र वरिपरि सचेतनामूलक व्यानर टाँसेर सचेत समेत गराइएको छ । छनौटस्थल नजिकका शंकास्पद ठाउँमा सिभिल पोसाकमा प्रहरी समेत परिचालन गरिएको छ ।

पारदर्शीताका लागि प्रत्येक इभेन्ट सकिएपछि परीक्षाफल प्रकाशित गरिन्छ । एउटा इभेन्टमा असफल भएपछि अर्कोमा सहभागिता जनाउन पाइँदैन । प्रहरी वरिष्ठ उपरीक्षक सुवेदी भन्नुहुन्छ, “परीक्षामा असफल हुने प्रतिष्पर्धीहरुलाई सम्झाई बुझाई पठाइन्छ । असफल हुनुको तथ्यपरक कारण सहित फोटो, भिडियो समेत देखाई स्पष्ट जानकारी दिने गरिएको छ ।

नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी निरीक्षक पदको विज्ञापन मार्फत दरखास्त दिएका उम्मेदवारहरूको लिखित परीक्षा सोमबार सम्पन्न भएको छ भने प्रहरी सहायक निरीक्षक पदको लिखित परिक्षा आगामी माघ ११ गतेदेखि संचालन हुँदैछ । साथै प्रहरी जवान पदमाको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा हाल प्रदेश प्रहरी तालिम केन्द्रहरु जनकपुर, दुधौली सिन्धुली, पोखरा, वुटवल, सुर्खेत हाल नेपालगंज, दिपायल र महानगरीय प्रहरी शिक्षालय महाराजगंज, काठमाडौंमा भइरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.