चीनले नेपाली सेनालाई २ अर्ब ४० करोडको सैन्य सामाग्री दिने

चीनले नेपाली सेनालाई २ अर्ब ४० करोडको सैन्य सामाग्री दिने

चीन सरकारले विपद् व्यवस्थापनका लागि नेपाली सेनालाई १५० मिलियन युआन अर्थात २ अर्ब ४० करोड रुपैयाँ बराबरको सैन्य सामाग्री दिने भएको छ ।

आइतबार बेइजिङमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र जनवादी चीनका रक्षा मन्त्री जेनेरल वेइ फेङ्गेबीच नेपाली सेनालाई सैन्य सामग्रीहरू उपलब्ध गराउने सम्झौता भएको हो।

चीनका राष्ट्रपति सी चीनफिङको गत असोज २५ र २६ मा भएको नेपालको राजकीय भ्रमणका क्रममा चीनले नेपाललाई उक्त सहायता उपलब्ध गराउने प्रस्ताव गरिएको थियो । उक्त सहयोग तीन वर्षभित्रमा प्राप्त हुनेछ ।

नेपालले माग गरेअनुसार तीन वर्षभित्र नेपाललाई सैन्य सामाग्री हस्तान्तरण हुने रक्षा मन्त्रालयले जनाएको छ। यस भेटवार्तामा द्विपक्षीय सम्बन्ध र पारस्परिक हितका विषयमा वार्ता भएको थियो।

चिनियाँ रक्षामन्त्री जेनेरल फेङ्गेले नेपाली सेनाको क्षमता विकासका लागि चीन सरकार सकारात्मक रहेको बताए।

वार्ताका क्रममा चीनका राष्ट्रपतिबाट हालसालै भएको नेपालको राजकीय भ्रमणले दुई मुलुकबीचको सम्बन्धलाई थप प्रगाढ र फलदायी बनाउन सहयोग पुगेको बताउँदै उनले चीनका रक्षामन्त्रीलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणा दिए ।

चीनका रक्षामन्त्रीले सो निमन्त्रणा सहर्ष स्वीकार गर्दै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने जनाएको रक्षा मन्त्रालयले जनाएको छ ।

चीनका रक्षामन्त्रीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पोखरेल नेतृत्वको टोली हाल बेइजिङमा छ । भेटवार्तामा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, नेपाली सेनाका रथी गौरव तण्डुललगायतको उपस्थिति थियो ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.