सेनाको भर्ना छनोट प्रक्रियामा अनियमितता गर्नेलाई कारवाही

सेनाको भर्ना छनोट प्रक्रियामा अनियमितता गर्नेलाई कारवाही

नेपाली सेनाले भर्ना केन्द्रमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशङ्कामा चार सैनिक तथा २३ गैरसैनिक व्यक्तिमाथि अनुसन्धान गरी कारवाही अगाडि बढाएको छ ।

गत साउन १९ गते प्रकाशित विज्ञापनअनुसार नेपाली सेनाको ४० भर्ना केन्द्रमा पाँच हजार ८०० सैन्य पदको भर्ना छनोट प्रक्रिया भइरहेको छ । सेनाको भर्ना केन्द्र, उत्तर–पश्चिम पृतना हेडक्वाटरमा नक्कली परिचयपत्र बनाइ किर्ते गरेको आशङ्कामा तीन र श्री नं छ  बाहिनी अड्डा, कैलाली, भर्ना केन्द्रमा आर्थिक लेनदेन भएको आशङ्कामा एक सैनिकलाई निगरानीमा राखी अनुसन्धान शुरु गरिएको छ ।

यसैगरी भर्ना केन्द्रमा नक्कली परीक्षार्थी पठाइ परीक्षा दिन लगाउने वास्तविक उम्मेदवार छ जना तथा नक्कली परीक्षार्थी नौ जनालाई सुर्खेत जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी अनुसन्धान शुरु गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सो कार्यमा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको बताइएको छ ।

सैन्य भर्ना केन्द्र श्री नं २४ बाहिनी अड्डा, जुम्ला तथा श्री नं छ बाहिनी अड्डा, कैलालीमा पनि परीक्षा दिन लगेकाका चार नक्कली परीक्षार्थीलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको छ । त्यस्तै वास्तविक उम्मेदवारको खोजी भइरहेको र अन्य तीन भर्ना केन्द्रमा आर्थिक लेनदेनमा संलग्न चार गैरसैनिकलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेतृत्व सम्हालेदेखि भर्ना छनोट प्रक्रियालाई स्वच्छ, निष्पक्ष, स्वस्थ र प्रतिस्पर्धात्मक बनाइ नेपाली सेनामा योग्य व्यक्तिले  सेवा गर्ने अवसर नगुमाओस् भन्नेमा जोड दिँदै आउनु भएकाले  सोही बमोजिम गत वर्षदेखि भर्ना छनोट प्रक्रियालाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउन सबै भर्ना केन्द्रमा भेरिफिकेसन डेस्क राखी बायोमेट्रिक उपकरणमार्फत खराबी नियन्त्रण गर्ने गरिएको छ ।

यसले भर्ना छनोट प्रक्रियामा हुने अनियमितता कमी हुनाका साथै त्यस्ता कारवाहीले सङ्गठन शुद्धिकरण अभियानमा समेत टेवा पुग्ने नेपाली सेनाको विश्वास छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.